विजय :
विकार निस्कनु , त्यसैले आकार लिनु
कस्तो अद्भुत लीला
शरीर शुद्धि माग्दछ
शुद्धिकै उपज, अर्को शरीर जाग्दछ
वस्त्र भिरेर इन्द्रियहरुको
हाडहरुको टेकेर टेका
जगतको विचरणमा लाग्दछ
उपस्थिति केवल उपस्थित हुनुमा छ
शरीर अनौठो छ
बुङछेङ:
हृदय ब्रह्माण्ड हो, निहित छ मानवीय गुणहरु
विजारोपण गर्छ सधैं, दु:ख सुख भोगको
शरीरको ऊ चालक हो, चलाईरहन्छ इन्द्रियहरु
वैराग्यलाई उचाईमा लाने, अध्यात्मको उडान भर्ने
हो_____ऊ____हृदय____हो
विजय :
चल्नु पनि छ, गल्नु पनि छ
हरदिन रूप बदल्नु छ
निभ्नु अघि बल्नु पनि छ
नाइटै वरपर घुम्दछ
उसको धर्ममा भोक छ
आफैंलाई पुरेर मात्र अघाउँछ
इनार जस्तो गहिरो मुख छ
माटो, शरीर जतै पाउँछ
पसिनै मात्र बगाउँछ
कर्ममा पसिना छ
बुङछेङ:
मात दिन्छ प्रकाशगतिलाई, छैन कसैको वशमा
शान्ति खोज्छ चारै दिशा, क्रोध र डरको उत्गमस्थलमा
पिर फ्याँक्छ ओठ बाटै, अंगालो खोज्छ सान्त्वनाको
ध्यान माग्छ फुल फुलाउन, धैर्य बस्दैन केहिबेर
उस्ले_____अस्थिरता____मन पराउछ
विजय :
कहाँ अघायो र जुका रगतले
खाँदा खाँदै ज्यान गुमायो
कहाँ अघायो र इन्द्रियभोगले शरीर
मर्दा पनि मुट्ठी बनायो
उसको मुखमा उमेर पर्यो
शक्तिको एक एक अंश खायो
जानेन कहिले व्रत बस्न
न केहिले तृप्ति पायो
बुङछेङ:
कोमलता नै गढीबस्छ, उस्को नसा नसा भित्र
असन्तुष्टि मसि पिलाई, कोर्छ जीवन मानचित्र
नबाढे कतै हृदय टुक्राई, अमुर्त कथा आफैले रच्छ
पोखोस् संवेदना, बगोस् जता जता बग्छ
विजय:
शरीरले जीवन जोत्दछ
क्षणभर रमाउँछ
जीवनले शरीर जोत्दछ
हर दिन मुस्कुराउँछ
चञ्चलता , स्थिरता
भोग, भोक, पसिना, विलास
सबै उसै भित्र छन्
घाम छाँया उसैभित्र छ
बुङछेङ:
दुषित प्रहार छेकोस्, लडाइँ पर्दा मस्तिष्कको
मुठी पारोस् स्थिरतालाई, धड्कन बढे हृदयको
बाटो खोजोस् आफै उस्ले, नदेखेको भविस्य पनि
सन्तुष्टि गृह हृदयको, तुलना यदि गर्दैन भने
दुवैजना :
चञ्चलता उस्को स्वभाव हो
ऊ छ सब छ ( बुङछेङ)
ऊ छैन, जीवन छैन ( विजय )
उस्को पूर्णता श्रापित छ
मिथ्या छ उस्को सन्तुष्टि

